कुहिरो भित्र गाउ


नेपालको पहिलो होमस्टे कुन हो?
घले गाउँ।


पहिला पहिला यसरी कैँयौ पटक हाजिरजवाफमा उत्तर मिलाउने म स्कुले ठिटोलाई घले गाँउको घुम्ने मात भने नलागेको होइन। मेरो घले गाउँ घुम्ने सपना सपनामा नै सिमित थियो।

तर यसपाली भने बल्ल वर्षौदेखिको सपना पुरा भयो। होमस्टे सम्बन्धी अनेकौँ प्रश्नहरु खेलाउँदै घले गाउँको यात्रा तय भयो। मुग्लीनबाट त्रिशुली तरेर आबुखैरेनी हुँदै अगाडी बढ्दै जाँदा सुन्दर भौगोलिक स्वरुपले मध्य पहाडी परिवेशको रमणिय अनुभूति दिने रहेछ। तनहुँ जिल्लाको डुम्रे हुँदै हामीले पृथ्वी राजमार्ग छोड्यौँ। सानो कालोपत्रे बाटो, सम्म परेका फाँटहरु, स(साना बजार र बस्तीहरु हुँदै हामी अघि बढ्यौँ। थिमबरास, तल्लो पिपलटार, तुरतुरे, पाउँदी, सुन्दर बजार र भोटेओडारमा रहेको मध्य मस्याङ्दी जलविद्युत आयोजना छिचोल्दै हामी बेसीशहर पुग्यौँ।

बेसीशहर सुन्दर छ भन्ने कुरा सुन्नमा धेरै आएको थियो। वास्तवमा नै राम्रा(राम्रा उस्तै देखिने घरहरु अनी सम्म भुभागमा रहेको यो नगर सुन्दर भ्याली जस्तै रहेछ। हाम्रो गाडी बेसीशहर छोडेर उकालो लाग्यो। आकाशमा कालो बादल लागेको र पानी पर्ला जस्तो चिसो मौसम थियो। हाम्रो गाडीले त्यो कच्ची बाटोमा धिमा गति लियो। माथी पुगेर बेसीशहर नियाल्दा साच्चँै नै सुन्दर नगर रहेछ। बाटो अगाडी बढ्दै जाँदा साह्रै डर लाग्यो। सानो कुचुक्क र चट्टाने बाटो त्यो पनि तल माथि नै भिर तर पनि मेरो ध्यान भने त्यहाँबाट देखिने लोभलाग्दो बेसीशहरमा नै केन्द्रित थियो। 

केहि समय पछि पानी पर्न थाल्यो र सडक बिस्तारै हिलोमा परिणत भयो। जता ततै बादल मडारिन थाल्यो र लाग्यो कि त्यो बादल भित्रको संसारमा हामी मात्र छौँ। हिमाल, पहाड, खोँच, भञ्ज्याँङ् र बेसीहरु बादलमा परिणत भयो र सुन्दर दृश्यहरुको तस्बिरहरु कैद गर्न नपाएकोमा थक्क थक्क लाग्यो। बाक्लो जङ्गलको बाटो हुँदै गाडी अगाडी बढ्दै जाँदा तल माथी ढुङ्गा छापेको सिँडिहरुले अन्नपूर्ण पदमार्गको परिचय दिन्थ्यो। झन्डै डेढ घण्टा पछि हामी कपुर गाउँ पुग्यौँ। कपुर गाउँबाट देखिने गहिरो भञ्ज्याङ्, बेसी र खाँेचहरु बादलले थिचेर सेतै देखिन्थ्यो। सायद पानी परिरहेकोले होला कोही मान्छे पनि बाहिर देखिँदैनथ्यो। हामीलाई घले गाँउ पुगेर बस्नु थियो। त्यसैले हामी अघि बढिर¥यौँ। कपुरगाउँबाट फेरि एक घण्टाको यात्रा पछि हामी घले गाउँ पुग्यौँ। 

त्यहाँको स्थानियले हामीलाई स्वागत गरे र पर्यटन व्यवस्थापन समितिले हामीलाई आठ नम्बरको होटलमा पु¥याइदिए। कोठामा झोला राख्नासाथ म तुरुन्तै बाहिर निस्केँ, घले गाउँको दृश्य अवलोकन गर्न। सिमसिम पानी परिरहेको नै थियो। पर्यटन उद्योगका कारणले रुप र स्तर दुबैमा निरन्तर परिवर्तन आउँदै गरेको त्यहाँको जिवनस्तर र सुविधाहरु सोध्दै, खोज्दै र नियाल्दै घले गाउँ घुमे। त्यहाँबाट अन्नपूर्ण संरक्षण क्षेत्र पनि सुरु हुने रहेछ। त्यहाँको मानिस, घर, छानाभरि थुपारिएका दाउराका चाङहरु, कला, संस्कृति, बाटो, भौगोलिक अवस्था, यी सबै कुरा नयाँ थिए मेरा लागी। मौसमको कारण प्राकृतिक सुन्दरता हेर्न, देख्न र कैद गर्न नपाए पनि कहिले एता, कहिले उता गाउँ सबै हिँडे र घले गाउँको आन्तरिक र सांस्कृतिक सुन्दरतालाई आँखाभरि राखेँ र होटलमा फर्के। 

कोठामा सहयात्रीहरु मकै भटमास र सिलाउटोमा कुटेको गुन्द्रुक खाँदै रहेछन्। यसरी होटलमा यस्तो खानेकुरा खाएको मैले पहिलो पटक अनुभव गरेँ। रमाइलो त के लाग्यो भने, त्यस्तो बिकट गाउँमा पनि इन्टरनेट चल्दो रहेछ। गाउँकै स्रोत साधनले बनेको राम्रा र स्थानिय संस्कार र संस्कृति झल्काउने पुराना घरहरुले मलाई अत्यन्तै प्रभावित पा¥यो। सबै ढुङ्गा छापेको बाटो, घर, आँगन एकदमै सफा थियो। ठाउँ ठाउँमा डोरीले बुनिएको सानो डोकोको आकारको डस्टबिनहरु राखिएको रहेछ। साँच्चैनै घले गाउँ मैले कल्पना गरेको भन्दा पनि राम्रो नमुना गाउँ रहेछ। बेलुका त्यहाँको स्थानिय स्रोत साधनले बनेको मिठो खाना खाएर हामी कोठा तिर गयौँ। थकाइले गर्दा होला खाटमा पल्टने बितिकै भुसुक्क निदाइएछ। 


बिहान सबेरै उठेँ। पानी परिरहेको नै थियो, जताततै सेतै कुहिरो लागेको रहेछ। हामीलाई आज मिदिम खोला झर्नु थियो त्यसैले नास्ता लिएर हामी आठ बजे तिर मिदिम खोला तर्फ लाग्यौँ। मिदिम खोला जान कपुर गाउँसम्म आएर अर्को बाटो जान पर्ने रहेछ। झन्डै डेढ घण्टा लगाएर हामी मिदिम खोला पुग्यौँ। मिदिम खोलामा बाढि आएकोले हामीलाई सबै काम फत्ते गर्न सम्भब भएन त्यसैले आन्तरिक छलफल र स्थानियहरु सँग केहि अन्र्तकृया गरेर हामीले फर्कने निधो ग¥यौँ। बेलुका चार बजे तिर हामी फेरि घले गाउँ पुग्यौँ र त्यही दिन काठमाण्डौँ फर्कने निर्णय भयो।

कुहिरो भित्र लुकेको घले गाउँको बसाइले मलाई पूर्ण सन्तुष्टि दिएन। त्यसैले अर्को पटक फेरि आउँछु भन्दै मनमा हेक्का राखेँ र हाम्रो गाडिले गति लियो।


Post a Comment

2 Comments